FAQs Complain Problems

ग्राम्थान गाउँपालिका -तेतरिया मोरंग

सबल पक्ष

यस गाउँपालिकामा सहरी विकासका लागि पर्याप्त जमिनको उपलब्धता छ । पूर्वपश्चिम राजमार्गसँग जोडिएको सडक संजाल सहितको यातायत सुविधा यस गाउँपालिकाको अर्को महत्वपूर्ण सबल पक्ष हो । यहाँबाट नजिक रहेका विराटनगर, विराटचौक, बेलवारी जस्ता ठूला शहरी क्षेत्रबाट विभिन्न प्रकारका लाभ प्राप्त गर्न सकिने सम्भावना छ । बालमैत्री स्थानीय शासन कार्यान्वयन रणनीतिक योजना तयार भई कार्यान्वयनको चरणमा रहेको छ । शैक्षिक क्षेत्रमा बिगतको तुलनामा सुधार भई विधालय भर्ना  दरमा १० प्रतिशत बृद्धि भएको छ । यस गाउँपालिकाको सुविधायुक्त आफ्नै कार्यालय (भवन) छ भने सातवटै वडा समितिका आ-आफ्नै कार्यालय भवन छन् । अधिकांश टोलबस्तीमा विधुत सेवा पुगेको छ भने करिब ७०% जमिनमा सिंचाइ सुविधाको पहुँच रहेको अवस्था छ । यस क्षेत्रमा उत्पादित जुनसुकै वस्तुका लागि पनि बजारको अभाव छैन । नजिकै रहेका ठूला शहरी क्षेत्र र यातायात सुविधाका कारण यहाँ उत्पादित वस्तु देशको कुनै पनि स्थानमा पु-याउन सकिने  सम्भावना रहेको छ । यस गाउँपालिको गाउँ पार्श्वचित्र र एकीकृत आवधिक गाउँविकास योजना निर्माणको चरणमा रहेकको छ ।

कमजोर पक्ष

यस ग्रामथान गाउँपालिकामा दिगो विकासमा आधारित गुरु योजनाको अभाव छ । स्तरीय पूर्वाधारको कमी छ । यहाँको सडक सञ्जाल पर्याप्त छैन । कालोपत्रे सडक अत्यन्तै न्यून छ । लोहन्द्रा, जुडी र सिंगिया नदीको कारण यहाँका जनताले वर्षेनी कटान र बाढीको प्रकोप व्यहोर्नु परेको छ । फोहर व्यवस्थापनका लागि ल्याण्डफिल साइडको अभाव रहेको छ । शुद्ध पिउने पानी, सडक, बत्ती, ल्याण्डलाइन टेलिफोन जस्ता सेवाहरु पर्याप्त छैनन् । गाउँको सामाजिक, आर्थिक रुपान्तरण र भौतिक पूर्वाधार निर्माणमा समुदायको लागत सहभागिता अति न्यून छ । सामुदायिक विधालयहरुमा प्राविधिक शिक्षाको पठन – पाठन संचालन गर्न सकिएको छैन । मुख्य पेशाको रुपमा रहेको कृषिलाई आधुनिक तरिकाले व्यवसायिकरण गर्न सकिएको  छैन । यहाँको कृषि प्रणाली हालसम्म निर्वाहमुखी नै रहेको छ । सुविधायुक्त स्वास्थ्य संस्थाको कमी छ । खाध गुणस्तर परीक्षण तथा नियन्त्रण हुन नसकेका कारण खाध पदार्थमा विषादी, अखाध वस्तु र मिसावटयुक्त पदार्थको प्रयोग भइरहेको छ, जसका कारण मानव स्वास्थ्यमा अनेक प्रकारका समस्याहरु देखिएका छन् । यस गाउँपालिकामा सुदृढ ‌औधोगिंक र व्यापारिक आधारशिला नभएका कारण बेरोजगारी समस्या बढ्दै गइरहेको छ । आन्तरिक आय न्यून रहेका कारण गाउँ कार्यपालिकाको दैनिक प्रशासनिक खर्च धान्न कठिनाइ पैदा भएको छ । आफ्नै कार्यालय भवन हुँदाहुँदै पनि कार्यकक्ष  साँघुरो भएका कारण कतिपय शाखालाई काम गर्न अप्ठ्यारो परेको अवस्था छ । समग्रमा भन्नु पर्दा ग्रामथान गाउँपालिका आर्थिक,सामाजिक, भौतिक तथा वातावरणीय आधारमा प्राराम्भिक अवस्था मै रहेको छ।

अवसर

ग्रामथान गाउँपालिका विराटनगर जस्तो कोशी प्रदेश को राजधानी रहेको शहरसँग जोडिएको र यस क्षेत्रको विकासका लागि प्रदेश सरकारले विराटनगरसँग ग्रामथान गाउँपालिका सहित मोरङ र सुनसरी जिल्लाका १३ वटा स्थानीय तहहरुलाई समाहित गरी वृहत्तर विराट विकास क्षेत्रको अवधारणा अघि सारेको हुँदा यसबाट लाभ लिन सक्ने प्रशस्त सम्भावना रहेको छ । विराटनगर - विराटचौक सडक तथा मिलनचोक, सिमरिया, हरैँचा सडकले यस गाउँपालिकाको यातायात सुविधामा ठूलो योगदान पु-याएको छ । उर्वर कृषियोग्य जमिन प्रशस्त मात्रामा भएको हुँदा कृषि क्रान्तिको ढोका खोल्ने ठूलो अवसर प्राप्त छ । यस गाउँपालिकामा रहेका धार्मिक स्थलहरुको सम्बर्द्धनबाट सांस्कृर्तिक पर्यटन र होमस्टे पर्यटन प्रवर्धनको विकास गर्न सकिने सम्भावना रहेको छ । शहरी विकासका लागि पर्याप्त जग्गा रहेको छ ।

चुनौति

यस गाउँपालिकामा अव्यवास्थित बसोबास मुख्य चुनौतिका रुपमा रहेको छ भने नदी कटान र वर्षेनी आउने बाढी अर्को प्रमुख चुनौति हो । वर्षेनी ठूलो संख्यामा युवाशक्ति विदेश पलायन हुने गरेको छ । यसले गाउँको विकासमा प्रतिकूल प्रभाव पारेको छ । यसरी गाउँको सक्रिय जनसंख्या श्रम पलायनका कारण विदेशिने गरेको हुँदा कृषि पेशा नै संकटमा पर्ने खतरा बढेको छ । त्यसै गरी गरिबी, बेरोजगारी, अशिक्षा र अन्धपरम्परा यहाँको  आर्थिक, सामाजिक र भौतिक विकासका लागि चुनौतिका रुपमा रहेका छन् । भूमिको समुचित व्यवस्थापन हुन नसक्नु अर्को चुनौतिको विषय हो । यहाँ खेतीपाती गर्ने मानिसहरुसँग अति कम जमीन छ भने बढी जमीन हुने मानिसले खेती गर्न छोड्दै गएका छन् । बढी जमीन हुने जमिनदारहरु कृषि पेशा छोडेर शहरतिर सर्ने परिपाटी बढ्दै गएको छ ।  शैक्षिक बरोजगारी समस्याको रुपमा वृद्धि भएकोछ ।

 

 

 

 

धन्यवाद|

जन प्रतिनिधि